Breaking News Post

सुमन कुलुङले एभरेस्ट म्याराथनको उपाधि जित्न सफल



सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ५ का सुमन कुलुङले यस वर्षको तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको पुरुषतर्फको उपाधि जित्न सफल भएका छन् ।

हिमालय एक्सपिडिसन कम्पनीको आयोजनामा सम्पन्न प्रतियोगितामा उनले एभरेस्ट बेसक्याम्पदेखि नाम्चेसम्मको ४२ किलोमिटर दूरी ३ घण्टा ५० मिनेट २६ सेकेन्डमा पार गर्दै पहिलो स्थान हासिल गरे । विश्वकै सर्वोच्च उचाइमा आयोजना गरिने अनौठो म्याराथनका रूपमा परिचित यो प्रतियोगिता सगरमाथाको सफल आरोहणको ७२औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो ।

प्रतियोगिता हिमाली खेल पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजक संस्था हिमालय एक्सपिडिसनले जनाएको छ । रामेछापका गोपाल तामाङले ३ घण्टा ५२ मिनेट ३० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरे भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ का अर्जुन कुलुङले ४ घण्टा २ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान प्राप्त गरे ।

प्रतियोगितामा नेपाली धावकहरूको सशक्त उपस्थिति र सफलताले हिमाली क्षेत्रको साहसिक खेलकुद क्षमताको प्रदर्शन गरेको छ । आयोजकहरूका अनुसार आगामी वर्षमा प्रतियोगितालाई अझ व्यापक बनाउँदै अन्तर्राष्ट्रिय सहभागिता बढाउने योजनासमेत बनाइएको छ ।

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार ००:००