काठमाडौं, बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताए । आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।
यो पनि पढ्नुहोस:
सप्तरी, निषेधाज्ञा हटाएको भोलिपल्टै सप्तरीमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अदालत, जिल्ला प्रशासनका कर्मचारीसहित ५४ जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये तीन जना अन्यत्रका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणका क्रममा एकैदिन ५४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय राजविराजले जनाएको छ ।
जिल्ला अदालतका ४ जना र जिल्ला प्रशासन कार्यालयका तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार राजविराजमा मात्रै ३२ जनामा संक्रमण देखिएको छ । वडा नम्बर १ का १ जना, २ का ५ जना, ४ का ८ जना, ५ का ५ जना, ६ का ३ जना र वडा नम्बर ८ का ९ जनामा संक्रमण देखिएको छ ।
यस्तै हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ७ का २ जना, ९ का ४ जना र वडा नम्बर १२ का १ जनामा संक्रमण पुष्टि भएको छ । महदेवा गाउँपालिकाका २ जना, शम्भुनाथ नगरपालिकाका १ जना, छिन्नमस्ता गाउँपालिकाका १ जना, छिन्नमस्ता अस्पतालका २ जना, बलान बिहुल गाउँपालिकाका १ जना र नेपाल प्रहरीका १ जनामा संक्रमण देखिएको छ ।
मंगलबार आएको रिपोर्टमा महोत्तरीको लोहारपट्टी नगरपालिका ७ का एक जना, मोरंगका एक जना र सिरहाको मिर्चेयाका एक जना समेत पोजेटिभ देखिएका छन् । सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेपछि जिल्लामा चहलपहल बढेको छ । साथै जिल्ला प्रशासन कार्यालयसहित सरकारी र गैर सरकारी संस्थाले कामकाज सुरु गरेकै दिन ५४ जनामा कोरोना संक्रमण देखिएको हो ।










प्रतिक्रिया