राजनीति

मीनभवनस्थित यातायात व्यवस्था विभाग खरानीको मुस्लोसँगै आकाशमा विलीन



काठमाडौँ, वर्षौँदेखि स्मार्ट लाइसेन्स कार्डको सपना बोकेर धाउनेहरूको लामो लाइन लाग्ने मीनभवनस्थित यातायात व्यवस्था विभाग आज एउटा भग्नावशेषमा परीणत भएको छ । आइतबार विभागको कार्यालय अगाडि भविष्यको रङ्गिन कल्पना बुनिरहेका लोकेन्द्र सिंजाली मगर जलेको भवनको अगाडि एक मूर्तिझैँ उभिएका थिए । साउदी अरब पुगेर आफ्नो भविष्य खोज्ने उनको सपना खरानीको मुस्लोसँगै आकाशमा विलीन भएको थियो ।
लाइसेन्स आउने बित्तिकै मेनपावर कम्पनीले साउदी पठाइहाल्छु भनेको थियो । आन्दोलन सकिने बित्तिकै लिन आएको,’ उनले गला अवरुद्ध पार्दै भने । तर, कार्यालय पुग्दा उनले हृदयविदारक खबर सुने, उनको लाइसेन्स त आगोको लप्कामा सखाप भइसकेको रहेछ । उनका सारा सपनाहरू एकै झट्कामा ध्वस्त भएका थिए ।

कर्मचारीले कार्यालय जलेको खबर सुनाउँदा उनलाई सुरुमा त विश्वास नै लागेन । आफ्नै आँखाले नदेखेसम्म पत्याउन गाह्रो भएर, उनी लाइसेन्स वितरण हुने शाखातिर आफै जबरजस्ती गए । त्यहाँ त खरानीको विशाल थुप्रो मात्र थियो । त्यहाँ उभिन पनि डरलाग्दो थियो, जलेको गन्धले वातावरण नै विषाक्त बनाएको थियो । सेक्युरिटी गार्डले उनलाई त्यहाँबाट निकालिदियो । उनी जस्तै धेरै सेवाग्राहीहरू अझै पनि लाइसेन्सको रसिद बोकेर, कुनै चमत्कार होला कि भनेर आशमा त्यहाँ आइरहेका थिए । रित्तो हात, रित्तो मन लिएर फर्कनुको पीडा उनीहरूका आँखामा छर्लङ्गै देखिन्थ्यो ।

टोलाउँदै छन् कर्मचारी
कार्यालयका कर्मचारीहरूको हालत पनि लोकेन्द्रको भन्दा फरक थिएन । उनीहरू पनि काम गर्ने अवस्थामा थिएनन् । ‘क्षति नभएको कुनै कोठा छैन, बाहिरबाट उभिएर हेरेका छौँ । कहाँबाट के सुरु गर्ने भन्ने नै छैन,’ एक कर्मचारीले भने ।

कार्यालय परिसरमा ३० भन्दा बढी गाडी जलेर फलामको डङ्गुरमा परिणत भएका थिए । छापिएका हजारौँ लाइसेन्स, लाइसेन्स छाप्ने अत्याधुनिक मेसिन, इम्बोस्ड नम्बर प्लेटको स्टोरेज, इम्बोस्ड छाप्ने मेसिन सबै खरानीमा परिणत भएका थिए ।

प्रिन्टर, ल्यापटप, जेनरेटरका ब्याट्रीहरूसमेत चोरी भएका थिए । राज्यको ठुलो लगानी र कर्मचारीहरूको परिश्रम एकै झिल्कोमा ध्वस्त भएको थियो । कार्यालय भन्ने त भग्नावशेष मात्रै बाँकी रहेको छ । कर्मचारीको मनोबल पनि काम गर्न सक्ने अवस्थामा छैन । आउने हेरेर टोलाउने गरिरहेका छन्, सबैको आँखाभरि आँसु देखिन्छ,’ कार्यालयका एक अधिकारीले भने ।

उनका अनुसार कर्मचारीका निजी सवारी साधनहरू पनि जलेर ध्वस्त भएका थिए । धेरैले आफ्नो गाडीसँगै कमाइ गुमाएका थिए । सपनाहरू जलेका थिए, भविष्य जलेको थियो, र जलेको थियो उनीहरूको आत्मविश्वास । सवारी साधनहरू कार्यालयको कम्पाउन्डमा राख्दा तोडफोड हुनसक्ने डरले, ट्रली बसहरूको छेउमा एकै ठाउँमा लगेर राखिएको थियो । तर, दुर्भाग्यवश त्यहाँ पनि आगो लगाइयो । यो काठमाडौँमा ‘जेन्जी आन्दोलन’को आवरणमा भएको बर्बरताको एउटा कहालीलाग्दो उदाहरण थियो । यसले राज्यको सम्पत्ति मात्र नभई नागरिकको भविष्यमाथि पनि प्रहार गरेको थियो ।

कर्मचारीले भने, ‘आज म फेरि मीनभवन गएँ । तर, त्यहाँ जाने हिम्मत ममा थिएन । गेटबाटै जलेको गन्ध आइरहेको थियो । मैले आँखा चिम्लेर लामो सास फेरेर एकोहोरो हेरेँ । हिजोसम्म जहाँ म आफ्नो काममा व्यस्त हुन्थेँ, आज त्यहाँ खरानीको थुप्रो मात्रै छ ।’

उनी भावुक हुँदै भने ‘मलाई याद छ, एकजना सेवाग्राहीले मलाई भनेका थिए, ‘सर, एउटा लाइसेन्सको लागि कति धेरै धाउनुपर्छ । लाइसेन्स मेरो भविष्य हो ।’ तर, आज उनको भविष्य पनि यही खरानीमा मिसिएको छ ।

क्षतिको हिसाब गर्न सकिएको छैन
कार्यालयमा आएका कर्मचारीहरू आधिकारिक रूपमा कोही बोल्न मान्दैनन् । उनीहरूमा त्रास र असुरक्षाको भावना व्याप्त छ । ‘हामीले केही नगर्दा त यस्तो अवस्था भयो, अब यातायातको कर्मचारीको हो भनेर मिडियामा बोल्ने अवस्था नै छैन,’ ती कर्मचारी भन्छन्, ‘लाइसेन्स छाप्ने मेसिन नै करोडौँको हो । त्यो पुरै ध्वस्त भएको छ । कार्यालयका हजारौँ फाइलहरू ध्वस्त भएका छन् । कार्यालयमा हुने फर्निचर, मेसिनरी लगायतका सामाग्री त केही नै छैनन् ।

‘हरेक शाखामा पहिले लुटपाट भएको छ । त्यसपछि आगो लगाइएको छ,’ उनले भने । क्षति कति भयो भन्ने यकिन तथ्याङ्क आउन अझै धेरै समय लाग्ने देखिन्छ । उनले देशको यातायात प्रणालीलाई स्मार्ट र डिजिटल बनाउन गरिएको स्मार्ट लाइसेन्स, इम्बोस्ड नम्बर सबै एकै झड्कामा खरानी भएको बताए ।

सेवा अनिश्चित
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहने यो विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको घोषणा गरिसकेको छ । विभागले जारी गरेको सूचनामा भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनको क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजनी र चोरीरलुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको उल्लेख छ । यस कारण विद्युतीय सवारी साधन दर्ता प्रणालीसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको विभागले जनाएको हो ।

विभागका अनुसार अर्को सूचना नभएसम्म चालक अनुमति पत्र छपाइ र वितरण लगायतका सबै सूचना प्रविधि आधारित सेवा बन्द रहनेछ । यो अनिश्चितताले लोकेन्द्र जस्ता हजारौँ सेवाग्राहीले पाउने सेवा अन्योलमा परेको छ ।

प्रकाशित : २९ भाद्र २०८२, आइतबार ००:००