ताजा घटना

पुल्चोक समन्वयको अभाव र ‘भ्रम’ले निम्त्याएको झडप, ट्राफिकलाई लखेटि-लखेटि कुटिए



काठमाडौं यदि कुनै कठिनाइले घेरेको थिएन भने वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा यतिबेला सकिइसकेको हुन्थ्यो । शरद् ऋतु सुरु हुन लागिसकेको यो समया रातो मत्स्येन्द्रनाथको बारेमा चर्चा हुने समय पनि होइन ।

तर कोरोना भाइरसका कारण निम्तिएको संकटले केवल जनस्वास्थ्यमा मात्रै असर पारेन, झण्डै एक हजार वर्षदेखि चल्दै आएको संस्कृतिमा समेत अवरोध सिर्जना गर्‍यो । यही अवरोधले बिहीबार ललितपुरको पुल्चोकमा एउटा अप्रिय परिघटनाको दृष्य देख्नुपर्‍यो ।

रथारोहण गरेको समेत लामो समय हुँदासम्म पनि रथयात्रा नगरेकोप्रति असन्तुष्टि जनाउँदै बिहीबार बिहान पाटनका युवाहरू गुठी संस्थान र प्रशासनलाई दबाब दिने रणनीति बनाउन पुल्चोकमा भेला भएका थिए । जनस्वास्थ्यका मापदण्डहरु पुरा गरेर रथ तान्ने व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग थियो ।

भेलामा सहभागीहरुका अनुसार त्यतिबेलासम्म रथ तान्ने कुनै योजना नै थिएन । तर निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले बल प्रयोग गर्न खोज्यो । प्रहरीले स्थिति खल्बल्याइदिएपछि स्थानीय युवाहरु रथ तानेर देखाउँछौं भन्दै कस्सिए । अरु मानिसहरु पनि भेला भए, र ठूलो भीड जम्मा भएपछि स्वस्फूर्त रुपमा रथ तान्न थाले । त्यसलाई प्रहरीले रोक्दा झडप भयो । र, पुल्चोक क्षेत्र दिनभर तनावग्रस्त रहृयो ।

झण्डै सवा महिनासम्म पुल्चोकमा रथ ठड्याएर राख्नु परेको थिएन भने ढिलो हुँदा पनि साउन १० गतेको रथारोहणपछि पहिलो दिन पुल्चोकबाट गाःबहाल पुर्‍याएर गुरुपूजा, दोस्रो दिन गाःबहालबाट मङ्गलबजार पुर्‍याएर दरबार पूजा, तेस्रो दिन मङ्गलबजारबाट सुन्धारा पुर्‍याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्‍याएर उपयुक्त दिनमा महाबली दिँदै यतिबेला जावलाखेलमा पुर्‍याएर भोटो पनि देखाइसकिएको हुन्थ्यो ।

तर यो वर्ष कोरोना महामारीका कारण केही पनि समयमा हुन सकेन । र, बिहीबार त रथ तान्न खोज्ने स्थानीय र प्रहरीबीच झडप नै भयो । यो अवस्था आउनुमा भने स्थानीय प्रशासन र गुठी संस्थान पनि जिम्मेवार छन् । प्रशासन र गुठी कहाँ चुक्यो भन्ने बुझ्नु पूर्व रथयात्रासम्बन्धी काम कहिले कहिले स्थगित हुँदै आयो र कहिले के-के गतिविधि भयो भन्ने बुझ्नु जरुरी हुन्छ ।

सबैभन्दा लामो समय मनाइने जात्राको रूपमा रहेको यो जात्रा चैतको अन्तिमदेखि सुरु भएर वैशाखको मध्यमा सम्पन्न हुने गर्छ । विधिअनुसार चैतको २७ गते साइतपूजा गरेपछि चैत २८ गतेदेखि रथ बनाउने काम गर्ने गरिन्थ्यो । यस वर्ष १२ वैशाखमा रथारोहण गरेर १५ वैशाखमा रथ तान्ने साइत थियो ।

तर यसपटक कोभिडका कारण साइत पूजाको समयदेखि नै आयोजक समिति एवं गुठी संस्थान लगायतका सरोकारवालाहरू अन्यौलमा रहेको देखिन्छ । अन्यौलकै बीच चैत २७ गते साइत पूजा गरिएको थियो । २८ गते रथ निर्माण गर्ने काम स्थगित भएको सूचना निकालियो । झण्डै साढे २ महिना रथयात्राको काम बन्द भयो । कोरोनाको संक्रमण रोकथाम गर्न सरकारले पनि चैतदेखि नै मानिसहरु भेला हुन, धार्मिक कार्यक्रम तथा जात्रा गर्न रोक लगाएको थियो ।

लकडाउन केही खुकुलो भएपछि असार १० गते रथ निर्माणको काम सुरु भयो । त्यहीबाट गल्ती सुरु भयो । धार्मिक कार्यक्रमहरु गर्न रोक लगाएको बेला स्थानीय प्रशासन, गुठी संस्थान लगायतले स्थानीयसँग त्यसबेला नै समझदारी गरेर निकास खोज्नुपथ्र्यो । तर, समन्वयको अभाव देखियो ।

रथ निर्माण सकिएपछि रथारोहण र रथयात्राको मिति तोक्ने र रोक्ने खेल सुरु भयो । सुरुमा असार १७ गते रथारोहणको हल्ला चलाइयो । त्यसपछि असार २४ गते भनियो र । साउन १० गते पुल्चोकमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गरियो । संस्कृतिविद् हरेराम जोशी अहिलेको समयमा रथारोहण सम्भव नरहेकाले सामाजिक दुरी कायम राखेर एकाध व्यक्तिले खटमा राखेर नगर घुमाउने विषयमा प्रशासनले समन्वय गर्नुपर्ने बताए ।

तर रथारोहणसम्म मौन बसेको प्रशासन रथारोहणपछि मूर्ति निकाल्नै नमिल्ने अवस्थामा भने रथयात्रा गर्न मिल्दैन भनेर बल प्रयोग गर्न थाल्नुले प्रशासनसमेत आफ्नो जिम्मेवारीमा चुकेको जोशीको बुझाइ छ ।

एउटा ‘भ्रम’

रातो मत्स्येन्द्रनाथको रथयात्रा गर्न जोडबल गर्नुका पछाडि एउटा त्रासले पनि काम गरेको छ, दशैंसम्म रथयात्रा नभए मत्स्येन्द्रनाथलाई भक्तपुर लैजानुपर्छ । कोरोनाका कारण रथयात्रा अन्यौलमा परेपछि यो पुरानो विवाद चर्चामा आयो । २०१८ सालमा हैजाको महामारीका कारण जब रातो मत्स्येन्द्रनाथको रथयात्रा समयमा हुन सकेको थिएन, भक्तपुरको सिद्धिलक्ष्मी मन्दिरको पछाडिपट्टि रहेको सिलु महादेव मन्दिरको सिँढीमा राखेर भोटो देखाउने तयारी गरेको विगतलाई स्मरण गरे । त्यसबेला पाटनले हतारहतार जात्रा गरेर रातो मत्स्येन्द्रनाथलाई रोकेको भन्दै भक्तपुरका संस्कृतिवदहरुले यो पटक रथयात्रा नभए भक्तपुरले दाबी गर्नुपर्ने तर्कहरु अघि सार्न थाले ।

त्यसको असर ललितपुरमा पर्‍यो । स्थानीयहरुले रथयात्रा गर्न दबाव दिन थाले । केही दिनअघि मत्स्येन्द्रनाथको गुठीसम्बन्धी ज्योतिष दैवज्ञ कीर्तिमर्द्धन जोशीले ढिलामा १० दिनभित्र रथयात्रा नगर्ने हो भने पुल्चोकबाट गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल रथ पुर्‍याउन कम्तीमा चारदेखि पाँच दिन समय लाग्ने र शुभसाइत पनि पाउन मुस्किल हुने बताए ।

यदि शुभसाइत पाउन मुस्किल भयो भने असोज २ गतेदेखि मलमास सुरु हुने र मलमास सकिएलगत्तै दशैं सुरु हुने अवस्था छ । मलमासमा यस्ता धार्मिक गतिविधिको फल नहुने भएकाले धार्मिक गतिविधि गरिँदैन र दशैंअघि नै रथयात्रा गरिएन भने मत्स्येन्द्रनाथलाई भक्तपुर लैजानुपर्छ भन्ने त्रास ललितपुरबासीमा देखियो । त्यहीबेला रथयात्राको व्यवस्थापन गर्ने जिम्मा पाएको ज्यापु समाजले बिहान ८ बजे बैठक राखेको थियो ।

त्यहीबेला जनस्वास्थ्यका मापदण्ड पालना गर्दै रथयात्रा गर्नुपर्ने भन्दै दबाब दिन युवाहरु भेला भएका थिए । तर प्रहरीले बल प्रयोग गर्न खोजेपछि उनीहरु रथ तानेरै देखाउन भनेर कस्सिएको बताइएको छ । ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन एकातर्फ भक्तपुर लैजानुपर्छ भन्ने त्रास र अर्काेतर्फ ज्योतिषहरूको दोधारे कुराका कारण पनि आजको समस्या आएको बताउँछन् ।

उनले भने ‘कोरोना महामारीको बेलामा छोटो विधिबाट यो संस्कार सम्पन्न गरौं भन्ने हाम्रो प्रस्ताव थियो । तर सो प्रस्ताव यो रथयात्रा सम्बन्धी निर्णय गर्ने पञ्चाङ्ग निर्णायक समितिले मानेन । जबरजस्ती रथयात्रा पहिलेको जस्तै गरी गर्नुपर्छ भन्ने ढिपीका कारण अहिलेको समस्या सिर्जना भएको हो ।’

जानकारहरू भने दशैंसम्म रथयात्रा नगरे रातो मत्स्येन्द्रनाथलाई भक्तपुर लैजानुपर्छ भन्ने ‘अप्रमाणित’ मान्यता भएको बताउँछन् । रातो मत्स्येन्द्रनाथको विषयमा विशेष अध्ययन गरेका संस्कृतिविद् हरेराम जोशी यो भनाइमा कुनै प्रमाणित सत्यता भने नभेटिने बताउँछन् । भने ‘भक्तपुर लैजानुपर्छ भन्ने भ्रमका कारण नै आजको रणसंग्राम मच्चिएको देखिन्छ । तर भक्तपुर लैजानुपर्छ भन्ने कुरामा कुनै सत्यता पाइँदैन । कुनै पनि साहित्यिक वा पुरातात्विक स्रोतले यसलाई पुष्टि गरेको पाइँदैन ।’

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार ००:००