मुख्य खवर

कुलमानको पुन: नियुक्ति माग गर्दै माइतीघरमा प्रदर्शन



काठमाडौं, कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरुले मैन बत्ती बलेर कुलमानको पक्षमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले आजको मन्त्रिपरिषद बैठकमा कुलमानलाई पुनः नियुक्ति गर्ने भनिएपनि ऊर्जा मन्त्रालयले प्रस्ताव पठाएको छैन ।

प्रधानमन्त्रीले ठाडो प्रस्ताव ल्याएको खण्डमा मात्रै कुलमानको सोमबार नियुक्ति हुने सम्भावना छ । जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ ।

केही कलाकारहरुले पनि प्रत्येक दिन राती ८ बजे कुलमानका पक्षमा ५ मिनेट बत्ती लिएर सरकारलाई नियुक्तिको लागि दबाव दिन अभियान चलाउन आह्वान गरेका छन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ ।

उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि सोमबारको क्याबिनेटमा यो प्रस्तावले प्रवेश पाएन । सोमबार साँझ बसेको क्याबिनेट बैठकमा कुलमानको विषयमा कुरै नउठेको एक मन्त्रीले जानकारी दिए ।

अर्का एक मन्त्रीले भने, ‘बैठक सकिनै लाग्दा उर्जामन्त्री वर्षमान पुनले ‘मेरो पनि एउटा प्रस्ताव थियो नि प्रधानमन्त्रीज्यू’ भनेको सुनियो, तर प्रधानमन्त्रीज्यूले कानूनअनुसार बुझौंला भन्नुभयो ।’

उर्जा मन्त्रालय स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्तिका लागि मन्त्री वर्षमान पुनले आइतबार नै प्रधानमन्त्रीसमक्ष प्रस्ताव पठाएका थिए । तर, प्रधानमन्त्रीले यो प्रस्तावलाई सोमबारको एजेण्डामै चढाएनन् ।

कुलमान घिसिङ ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा भएका छन् । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्रीले यसअघिदेखि नै अनिच्छा प्रकट गर्दै आएका छन् ।

उनले मिडियामा चर्चा गरेका भरमा नियुक्ति नदिने बताउँदै आएका छन् । तर, ढीलै भए पनि प्रधानमन्त्री ओलीले घिसिङलाई नै नियुक्त गर्ने स्रोतको दाबी छ । कुलमानलाई दोहोर्याउन जनस्तरबाट पनि सरकारमाथि दबाव छ । घिसिङको पुनः नियुक्तिको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शनसमेत भएको छ ।

प्रकाशित : ३० भाद्र २०७७, मंगलबार ००:००